बालेनका विश्वासिला पात्र प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साझा लाल्टिन संवाददाता

काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी गरेको छ । परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्।

भ्रष्टाचार मुद्दा दायर भएसँगै परियार निलम्बनमा परेका छन् । परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन् । परियार बालेनको विश्वासिला पात्र मानिन्छन् ।

सामाखुसी करिडोरमा बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माणसम्बन्धमा बदनियत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारको अभियोग छ । महानगरले कल्पवृक्ष–कोहिनूर जेभीलाई बोलपत्र स्वीकृत गरेर ठेक्का दिएको थियो ।

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी छन् । 

प्रतिक्रिया