लिपुलेकमा भारतसँगको सहमतिबारे चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले जनाए आपत्ति

साझा लाल्टिन संवाददाता

१४ भदौ, काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत चीनबिचको सहमतिमा आपत्ति जनाएका छन् ।  शनिबार थियानजिन अतिथि गृहमा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सो सहमतिमा आपत्ति जनाएका हुन् । 

‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति रहेको कुरा राख्नुभयो’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले भनेका छन् ।

साथै सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली पूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालकै भएको स्पष्ट पारिएको समेत राईले बताएका छन्  । ‘यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने  विश्वास नेपालले लिएको छ’ उनले भने ।

भेटवार्तामा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी समेत भएको राईले जानकारी दिएका छन्  ।

प्रधानमन्त्री ओली आजै चीनको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए । एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ ।

प्रतिक्रिया