२९ माघ, काठमाडौं - डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे १० बजे जिउ गाउँबाट त्रिपुराकोटतर्फ आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी त्रिपुरासुन्दरी–३ जिउ गाउँका करिब ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
उक्त घटनामा जिउ गाउँकै ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी–३ सुँ गाउँकी ४५ वर्षीया रमा बोहोरा तथा चालक घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।