कार्की आयोगमाथि पोखरेलको ठाडो प्रहार : ‘निष्पक्ष होइन, अल्गोरिदमको खेल’

साझा लाल्टिन संवाददाता

१२ चैत,काठमाडौं नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमाथि गम्भीर प्रश्न उठाएका छन्। उनले आयोगको प्रतिवेदनले नै उक्त छानबिन निष्पक्ष उद्देश्यका लागि नभएको पुष्टि गरेको दाबी गरेका हुन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले कार्की आयोग ‘एकपक्षीय’ भएको आलोचनालाई थप बल पुग्ने टिप्पणी गरेका छन्। “कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने कुरा आयोगकै प्रतिवेदनले पुष्टि गरेको छ,” उनले लेखेका छन्।

पोखरेलका अनुसार उक्त आयोग र ०८२ सालको आम निर्वाचनबीच सम्बन्ध रहेको देखिन्छ। उनले ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास’ भएको आरोप लगाउँदै त्यसैअनुसार निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको दाबी गरेका छन्।

उनले हालको राजनीतिक अवस्थालाई नयाँ मोडको रूपमा व्याख्या गर्दै ‘लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको’ उल्लेख गरेका छन्। यस्तो प्रवृत्तिले तत्काल समाधान नदिने र देशले केही समय चुनौती सामना गर्नुपर्ने उनको भनाइ छ।

यद्यपि, पोखरेलले उदीयमान ‘नयाँ शक्ति’लाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनुपर्ने धारणा पनि राखेका छन्। जनताले प्रत्यक्ष अनुभवका आधारमा मूल्याङ्कन गर्ने वातावरण सिर्जना गर्नु नै अहिलेको अवस्थामा उपयुक्त हुने उनको सुझाव छ।

तर अन्त्यमा उनले चेतावनी दिँदै भनेका छन् कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समाधानको बाटो नभई विचारधारात्मक राजनीतिको विकल्प पनि बन्न नसक्ने स्पष्ट संकेत गरेका छन्।

प्रतिक्रिया