काठमाडौँ २६ साउन - नेकपा माओवादी (केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारमा जाने विषय आफूहरूको प्राथमिकतामा नरहेको बताएका छन् ।
आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले गरेका कामको विरोध गर्दा माओवादीलाई सरकार चाहिएको जसरी अथ्र्याउन खोजिएको भन्दै अहिले नै सरकारमा जाने कुनै सोच नरहेको उनले बताएका छन् । सरकार परिवर्तनका विषयमा सोधिएको प्रश्नमा अध्यक्ष दाहालले भने, यो सरकारले राम्रो काम गरिरहेको छैन । त्यस विषयमा कुरा उठाउँदा सरकार चाहिएको जसरी बुझ्नु हुँदैन । हामीलाई सरकार चाहिएको छैन । त्यस विषयमा हामीले कुनै चासो राखेका छैनौँ ।
माओवादी केन्द्रले भदौ तेस्रो साताबाट विगतमा स्थगन भएको अभियानलाई पुनः सुरु गर्ने र त्यसपछि पुनः केन्द्रीय समितिको बैठक बसेर नयाँ एजेन्डासहित अघि बढ्ने उनको भनाइ छ । त्यसैले हाल सरकारभन्दा जनताका कुरा सुन्नतर्फ पार्टीलाई केन्द्रित गरिरहेका छौँ । जनताको गुनासो र ती गुनासा समाधानका लागि अभियान पुनःसञ्चालन गर्न लागिएको, अध्यक्ष दाहालले भने ।
हालै सम्पन्न स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको भन्दै उनले बैठकले गरेका निर्णय कार्यान्वयनमा आउने बताए । फरक प्रसंगमा उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेको र त्यहाँ द्रूतगतिमा काम अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको उल्लेख गरेका छन् ।
11 August 2025