काठमाडौं १८ जेठ - रोल्पा नगरपालिका–३ चौर पानीमा तेह्रौँ दिनको प्रसाद खाएर एकै गाउँका १ सय १० जनाभन्दा बढी व्यक्ति बिरामी परेका छन्।
शनिवार तिलकप्रसाद रोक्काको घरमा उनका बुवाको तेह्रौँ दिनको पुण्य तिथिमा प्रसाद खाएका गाउँका धेरैजसो मानिसहरू बिरामी परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले जनाएका छन् ।
‘प्रसाद खाएका गाउँभरिका मान्छेहरू एकपछि अर्को गर्दै बिरामी परे,खानामा समस्या देखिएको छ।’ डीएसपी विश्वकर्माले भने । रोक्काको घरमा बनाइएको दालभात, पुरी र अचारसहितको खाना खाएकामध्ये धेरैलाई पखाला र लगातार बान्ता, टाउको दुख्ने, ज्वरो, समस्या देखिएको हो।
चिकित्सकहरूले खानामा ‘फुड प्वाइजन’ भएको प्रारम्भिक अनुमान गरेका छन्। डीएसपी विश्वकर्माका अनुसार अहिलेसम्म अधिकांश बिरामीहरू उपचारपछि घर फर्किएका छन्।
तर, आठ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। रोक्काका आफन्त र गाउँले गरी करिब १५० जनाले खाना खाएका थिए। तीमध्ये अचार खानेहरू बढी बिरामी परेका छन्। स्वास्थ्य कार्यालय र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका रोल्पाका निमित्त प्रमुख सीता कुँवरले शनिवार गाउँमै बनाएको खानामा फुड प्वाइजन भएकाले करिब १ सय ५० जना प्रभावित भएको तर अहिले अधिकांश नियन्त्रणमा आएको बताइन् ।
‘अहिलेसम्म फुड प्वाइजन नै भन्ने छ, पहिले हामीले बिरामीको उपचारमै ध्यान दिऔँ, अब यसको अनुसन्धानमा जुटेका छौँ, पानीमा समस्या हो कि अरू केही समस्या हो भनेर अनुसन्धान हुँदै छ, धेरै जना उपचार गरेर फर्किनुभयो, केही अझै उपचाररत हुनुहुन्छ, हिजो एकै पटक समस्या आउँदा गाह्रो भयो’ उनले भनिन् ।