खडेरीपछि डुबानको समस्या, ४० बिगाहाको धानबाली डुबानमा

साझा लाल्टिन संवाददाता

  काठमाडौं २२ साउन - लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा एकाध दिनमै निराशामा बदलिएको छ। फतुवा विजयपुर नगरपालिका  ५ अन्तर्गतको सन्तपुर दोस्तीया क्षेत्रमा वर्षापछि करिब ४० बिगाहा धानबाली डुबानमा परेको छ।

स्थानीय किसानहरूले लामो समयको पर्खाइपछि लगाएको धानबाली अब डुवानमा परेको छ। 

सडक र जल निकासको अभावले डुबान समस्या झनै जटिल बन्दै गएको देखिन्छ। कटहरिया–सन्तपुर–कलैया सडक खण्ड जोडने सन्तपुर चोकदेखि करिब २५० मिटर पश्चिमतर्फ बाटोको उत्तर दिशामा पर्ने खेतहरूमा पानी जमेको हो। पानीको निकास नहुँदा खेतबारी डुबानमा परेका छन् भने पानी पूर्वतर्फका बस्तीहरूमा पनि पस्न थालेको स्थानीय बासिन्दाले बताएका छन्।

“रातभर पानीको डरले न निद्रा लाग्यो, न त बिहान धान जोगाउने उपाय सोच्न सकियो,” स्थानीय एक बासिन्दाले भने। यदि फेरि भारी वर्षा भयो भने घरमै पानी पसी खाद्यान्न जोगाउन मुस्किल पर्ने चिन्ता पनि उनीहरूले व्यक्त गरेका छन्।

यता, वडाध्यक्ष एजाज अहमदले उक्त समस्यालाई समाधान गर्न तत्काल पहल गर्ने बताएका छन्। उनका अनुसार  विभिन्न राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थितिमा छलफल गरिएको छ र आज सर्वदलीय बैठक बसेर ठोस समाधानतर्फ अगाडि बढ्ने निर्णय भएको छ।

रौतहटमा पछिल्लो समय देखिएको मौसमी असन्तुलनले कृषि प्रणालीमाथि गम्भीर असर पारेको छ। मनसुन सुरु भएपछिको अविरल वर्षा जहाँ एकातिर खडेरी पीडित किसानका लागि राहतको कारण हुनुपर्थ्यो, त्यही पानी अहिले डुबान र बाली नष्टको प्रमुख कारण बनेको छ।

प्रतिक्रिया