श्रीमती मारेर हराएको निवेदन, अन्ततः कल्भर्टमा शव भेटियो

साझा लाल्टिन संवाददाता

११ चैत,काठमाडौं विराटनगर महानगरपालिका–१७ मा कल्भर्टमुनि तन्नाले बेरेर फालिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ निवासी कोमलकुमारी साह रहेको प्रहरीले पुष्टि गरेको छ।

मंगलबार साँझ स्थानीयले दुर्गन्ध आएपछि कल्भर्टमुनि शव देखेर जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरी पुगेर शव उद्धार गरी पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको थियो। शव सडेको अवस्थामा रहेका कारण सुरुवाती चरणमा पहिचान गर्न कठिन भएको प्रहरीले जनाएको छ।

यसबीच, हराएको भन्दै निवेदन दिएका श्रीमान् रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा श्रीमान्ले नै घरायसी विवादका क्रममा पत्नीको हत्या गरेको आशंका गरिएको छ।

प्रहरी स्रोतका अनुसार घटना लुकाउन शवलाई तन्नामा पोको पारेर करिब ५ किलोमिटर टाढा रहेको कल्भर्टमुनि फालिएको देखिएको छ। कोमलकुमारी चैत ६ गतेदेखि सम्पर्कविहीन थिइन् भने चैत ८ गते रोशनले इलाका प्रहरी कार्यालय रानीमा हराएको निवेदन दिएका थिए।

निवेदन परेको केही दिनमै शव फेला परेपछि अनुसन्धानको दिशा फेरिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लिलाराज लामिछानेका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया