०४ चैत,काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान आराध्यदेव पशुपतिनाथ मन्दिरमा पुगेर विशेष पूजा–आराधना गरेकी छन् । उनले रुद्राभिषेकसहितको धार्मिक अनुष्ठान गर्दै देशको शान्ति र समृद्धिका लागि प्रार्थना गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कृतज्ञता व्यक्त गर्दै उनले भगवान् पशुपतिनाथप्रति धन्यवाद अर्पण गरेकी हुन् ।
पूजापछि प्रतिक्रिया दिँदै कार्कीले देशलाई शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरिन् । साथै, आगामी दिनमा राष्ट्र अझ उन्नति र समृद्धितर्फ अघि बढोस् भन्ने कामना व्यक्त गरिन् ।
उनले नेपाली समाजमा एकता, सद्भाव र आपसी आत्मीयता अझ सुदृढ हुँदै जाओस् भन्ने सन्देशसमेत दिइन् ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा तथा कार्यकारी निर्देशक सुवास जोशीलगायतको उपस्थिति रहेको थियो ।