घण्टी

साझा लाल्टिन संवाददाता

घण्टी बज्छ,

तर कक्षामा कोही छैन,

न पाठ्यक्रम छ, न पाठक—

छ त केवल आवाज,

ठूलो, चर्को, तर खोक्रो।


घण्टी बज्छ,

“परिवर्तन आयो” भन्दै,

तर कक्षा उही पुरानो,

कुर्सी उही सत्ता-सपना,

शिक्षक उही अहंकार।


घण्टी बज्छ,

सुधारको नाममा,

तर पाठ फेर्ने होइन,

पाठक भ्रमित पार्ने

धुन मात्र छ।


यो घण्टी

न त श्रमिकको पसिनासँग बज्छ,

न किसानको हलोसँग,

यो त बज्छ

मिडियाको हेडलाइनमा,

स्टुडियोको बत्तीमुनि।


घण्टी बज्छ,

तर प्रश्नको उत्तर छैन,

नीतिभन्दा नारा ठूलो,

संगठनभन्दा आकांक्षा अग्लो,

विचारभन्दा व्यक्तित्व भारी।


घण्टी बज्छ,

पुरानालाई गाली गर्दै,

तर पुरानै बाटो हिँड्दै,

नयाँ भनेको

केवल पोस्टर र प्रतीक।


घण्टी हो यो—

सचेत गराउने होइन,

भ्रम सिर्जना गर्ने,

क्रान्ति बोल्ने

तर सुधारमै अड्किने।


एकदिन

यो घण्टी आफैं थाक्नेछ,

किनकि इतिहासमा

आवाज होइन,

आचरण लेखिन्छ।

प्रतिक्रिया