कतारमाथि आक्रमण दोहोरिए अमेरिका एक्लै युद्धमा उत्रिने ट्रम्पको घोषणा

साझा लाल्टिन संवाददाता

०५ चैत,काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको विशाल ग्यास क्षेत्र साउथ पार्सलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्। इजरायलसँगको तनाव बढिरहेका बेला इरानले कतारमाथि आक्रमण जारी राखेमा अमेरिकाले अहिलेसम्मकै शक्तिशाली सैन्य कारबाही गर्ने उनले बताएका हुन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रतिक्रिया दिँदै, इजरायलले पश्चिम एसियामा विकसित परिस्थितिको आक्रोशमा साउथ पार्स ग्यास फिल्डमा आक्रमण गरेको जानकारी आफूलाई पछि मात्रै प्राप्त भएको उल्लेख गरे। उक्त कारबाहीबारे अमेरिका र कतार दुवै अनभिज्ञ रहेको उनको दाबी छ।

उनले इरानले बिना कारण कतारको एलएनजी पूर्वाधारमा हमला गरेको आरोप लगाउँदै, फेरि त्यस्तो कदम चालिएमा अमेरिका एक्लैले कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्। ट्रम्पका अनुसार यस्तो अवस्थामा अमेरिकाले इजरायलको सहकार्य बिना पनि साउथ पार्स ग्यास परियोजनालाई पूर्ण रूपमा नष्ट गर्न सक्ने क्षमता राख्छ।

यसैबीच,  इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले भने अमेरिका र इजरायलले आफ्ना ऊर्जा स्रोतहरूलाई लक्षित बनाएको आरोप लगाएको छ। इजरायली आक्रमणपछि इरानले रास लाफान इन्डस्ट्रियल सिटी मा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसबाट ऊर्जा संरचनामा उल्लेखनीय क्षति पुगेको कतारी निकायहरूले बताएका छन्।

प्रतिक्रिया