विधि बिना देश अघि बढ्दैन

साझा लाल्टिन संवाददाता


देशमा बेथितिको मात्रा दिनानुदिन बढ्दो छ, र यसको सबैभन्दा ठूलो मार युवा पुस्ताले बेहोर्दै आएको छ। बाध्यता, अवसरको खोजी र गहिरो निराशाका कारण हजारौँ युवा आफ्नै भविष्य फरक देशमा खोज्न बाध्य छन् । तर देशमै बसेर केही परिवर्तन गर्न चाहने युवाहरूको आवाज भने लामो समयदेखि बेवास्तामा परेको थियो ।

यही पृष्ठभूमिमा भदौ २३/२४ को जेन–जी आन्दोलन नयाँ मोडका रूपमा उदायो । शान्तिपूर्ण तर शक्तिशाली विरोधमार्फत युवापुस्ताले व्यवस्था सुधारको माग गर्दा राज्य दमनकारी रूपमै खडा भयो । गोली चलाइयो, तर्साइयो, युवाको आवाज थिचियो। यसले एउटा मूल प्रश्नलाई फेरि उठायो—किन हाम्रा शासनकर्ताहरू विधि र मूल्यभन्दा बाहिरबाट राजनीति चलाउन रुचाउँछन्?

विधि र नियतमाथिको प्रश्न नेपाली राजनीतिमा नयाँ होइन। हरेक सरकारले जवाफदेहिताको राजनीति गर्नुपर्ने वकालत भए पनि व्यवहारमा भने उल्टो बाटो हिँड्ने प्रवृत्ति दोहोरिरहेकै छ। इतिहासले स्पष्ट देखाउँछ—शासनमा पूर्वाग्रह, विभेद र स्वेच्छाचार टिक्दैनन्। लोकतन्त्रको मेरुदण्ड नै विधि हो। तर विधि मिचेर सत्ता जोगाउने राजनीति गर्दा देश थला पर्छ, जनता निराश बन्छन्, युवा पलायन हुन्छन्।

अमेरिका, चीन वा युरोपका मुलुकहरू उदाहरणीय विकास गरिरहँदा नेपाल भने विधिबिहीनता, गलत नियत र अल्पदृष्टिको राजनीतिले जकडिएको छ। योजना समयमा सकिँदैनन्, अदालतबाट न्यायमा जनता भरोसा गर्न सक्दैनन्, दलहरू आफ्नै नियमकानुन कुल्चिन्छन्।
यी सबैको मूल कारण एउटै हो—विधिको सम्मान गर्ने राजनीतिज्ञको अभाव।

अब शताब्दीअघिको विचार र संगठनमा अडिएका दलले देशलाई निकास दिन सक्दैनन्। नयाँ पुस्तालाई समेटेर, नयाँ सोच र सफा नियतसहित काम गर्ने नेतृत्व आवश्यक छ। लोकतन्त्रमा जनतामाथि शासन गर्ने होइन—जनताको सेवक बन्ने मनोवृत्ति चाहिन्छ।

अहिले सबैभन्दा खतरनाक कुरा भनेको राजनीति अन्धभक्तीले ग्रस्त हुनु हो। नेताको गल्तीलाई गल्ती भन्न नसक्ने संस्कृतिले दल नै कमजोर बनाउँछ, देश पनि। वैकल्पिक शक्ति दाबी गर्ने नयाँ दलहरूले पनि यही गल्ती नदोहोर्याउन सक्नुपर्छ—बाहिर भावुक नारा, भित्र गुटबन्दी र चाकरी भयो भने उनीहरूको पनि हविगत पुरानै दलसरह हुन्छ।

सत्य सरल छ—
विधि बिना विकास हुँदैन, र नियत बिना विधि टिक्दैन।
नेपाललाई अघि बढाउन पहिले सोच बदल्नुपर्छ, त्यसपछि प्रणाली।
नियत सफा छ भनेर मात्र होइन, व्यवहारमै देखाउन सक्नुपर्छ।

प्रतिक्रिया