वीरगन्जमा अधिकांश बिरामी झाडापखालाका , ४१ मा हैजा पुष्टि

साझा लाल्टिन संवाददाता

काठमाण्डौ ८ भदौ - वीरगन्जमा हैजाको प्रकोप फैलिइरहेको छ । दर्जन बढी अस्पतालमा १ सय २९ झाडापखाला तथा हैजाका बिरामी उपचाररत छन् । तीमध्ये ४१ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ । शनिबार रातिसम्म ती अस्पतालमा ९२ जना उपचारका लागि भर्ना भएकोमा आइतबार १ सय २९ जना भर्ना भइसकेका छन् ।

नारायणी अस्पतालमा ३३ जना भर्ना भएकोमा १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । तराई अस्पतालमा ३५ जना भर्ना भएकोमा १२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । एड्भान्स अस्पतालमा १४ जना भर्ना भई उपचाररत छन् । नेसनल मेडिकल कलेजमा १४ जना भर्ना भएकोमा ६ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।


आशाराम, भवानी र अली अर्थो अस्पतालमा २/२ जना उपचाररत रहेकोमा भवानी र अली अर्थो अस्पतालका २/२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । प्रभु र सर्वोत्तम अस्पतालमा ४/४ जना झाडापखालाका बिरामी उपचाररत छन् । सूर्या अस्पतालमा १ जना झाडापखालाका बिरामी उपचाररत छन् । नारायणी सेन्टर अस्पताल र मंगलम अस्पतालमा २/२ जना संक्रमित पुष्टि भएका छन् । अधिकांश बिरामी वीरगन्ज महानगरपालिका वडा नं. ११, १२, १६ र १८ का हुन् ।

अस्पतालमा भर्ना भएका हैजा संक्रमितमध्ये एक जनामात्र उपचारपछि घर फर्किएका छन् । हैजा संक्रमण फैलिने मुख्य कारण तथा स्रोतको बारेमा अनेक अड्कलबाजी भइरहे पनि आधिकारिक रूपमा अझै पनि हैजाको मुख्य स्रोतबारे जानकारी आउन सकेको छैन ।

हैजाबाट हालसम्म कसैको मृत्यु नभएको स्थानीय प्रशासनको दाबी छ । दुई जनाको मृत्यु हैजासँग मिल्दोजुल्दो लक्षण भएको रोगबाट भए पनि तिनको स्वास्थ्य परीक्षण नगरिएकाले तिनको मृत्युको कारण हैजानै हो भनी यकिन गर्न नसक्ने दाबी प्रशासनको रहँदै आएको छ । शुक्रबार वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्जकै ३५ वर्षीय युवक र १९ वर्षीया युवतीको मृत्यु भएको थियो ।

प्रतिक्रिया