१५ चैत,काठमाडौं - काठमाडौं जिल्ला अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको थुनामा राख्ने म्याद थपको निवेदनमाथिको बहस आज आइतबार सम्पन्न भएको छ। सरकारी वकिलले तिनीहरूलाई थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउनका लागि म्याद थप्न आग्रह गरेका थिए।
भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो , आन्दोलनमा व्यापक दमन भएको थियो। यस आन्दोलनको समयमा केपी शर्मा ओली प्रधानमन्त्री थिए भने रमेश लेखक गृहमन्त्री थिए। जेनजी आन्दोलनमा भएको दमनको विषयमा जाँचबुझका लागि गठित आयोगले ओली–लेखक विरुद्धमा फौजदारी कारबाही अघि बढाउन सिफारिस गरेको थियो।
सिफारिसका आधारमा अदालतले जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो। अदालतमा रमेश लेखक आफैँ उपस्थित भए भने, केपी शर्मा ओली स्वास्थ्यका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल उपस्थित भएका थिए।
आजको इजलासले म्याद थपको निवेदनमाथि निर्णय दिने जानकारी दिएको छ।