शुभ साइतमा बालेन शाह आज प्रधानमन्त्री, १२:३४ मा शपथ

साझा लाल्टिन संवाददाता

काठमाडौँ । नयाँ राजनीतिक परिदृश्यबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह आज औपचारिक रूपमा देशको कार्यकारी नेतृत्व सम्हाल्दै छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरिएको शुभ साइतअनुसार दिउँसो १२:३४ बजे उनले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ।

शपथ समारोहलाई धार्मिक र सांस्कृतिक रूपमा विशेष बनाउने तयारी गरिएको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ तथा ७ वटा शंखबाट शंखनाद गरिनेछ।

यसअघि नै राष्ट्रपतिबाट उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी सार्वजनिक गरिनेछ। नेपालको संविधानको धारा ७६(१) अनुसार एकल बहुमतका आधारमा सरकार गठन हुन लागेको हो। शपथ समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहनेछ।

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराउने तयारी भए पनि बिहानसम्म मन्त्रीहरूको नाम सार्वजनिक भइसकेको छैन। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकारले यसबारे अन्तिम टुंगो नलागेको जानकारी दिएका छन्।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही आधारमा बिहीबार बालेन शाह संसदीय दलको नेता चयन भएका थिए। झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत ल्याएर विजयी भएका शाह अब देशको नयाँ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्न लागेका हुन्।

प्रतिक्रिया