काठमाडौँ १६ भदौ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाको सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा शाहविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ गर्न पेसी तोकिएको हो । यो दोस्रो सुनुवाइ हो ।
अधिवक्ता दीपकराज जोशीले शाहविरुद्ध अदालतको अवहेलनाको आरोपमा कारबाही हुनुपर्ने माग राखी रिट निवेदन दिएका थिए । नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको थियो ।
तर उक्त आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको काम पनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भनी प्रतिक्रिया दिएका थिए । उनको प्रतिक्रियापछि अदालतमा अवहेलना मुद्दा दायर भएको हो ।
01 September 2025