मानवीय क्षति घटनामा फँसे काठमाडौँका तत्कालीन सीडीओ रिजाल

साझा लाल्टिन संवाददाता

१७  चैत,काठमाडौं जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनामा संलग्नता र लापरबाहीको आरोपमा तत्कालीन उच्च पदाधिकारीहरू विरुद्ध कारबाहीको क्रम जारी छ। सोही सन्दर्भमा, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई पनि मंगलबार बिहान सुविधानगरबाट प्रहरीले पक्राउ गरेको छ।

यसअघि नै आन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् र अदालतबाट उनीहरूलाई ५ दिनको म्याद थप भइसकेको छ।

भदौ २३ र २४ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा मानवीय क्षति भएको थियो। यही घटनालाई लिएर गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले विस्तृत अनुसन्धानपछि छवि रिजाललाई दोषी ठहर गर्दै फौजदारी मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो। मन्त्रिपरिषद्ले सो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि उनी पक्राउ परेका हुन्।

आयोगको निष्कर्ष अनुसार, रिजालले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा गम्भीर हेलचेक्र्याइँ गरेका थिए। बानेश्वरमा करिब चार घण्टासम्म लगातार गोली चल्दा र प्रदर्शनकारीहरूको ज्यान जाँदा पनि उनले स्थिति नियन्त्रण गर्न प्रभावकारी पहल नगरेको उल्लेख छ। साथै, कर्फ्यु जारी गरेपछि सुरक्षा निकायहरूबीच समन्वय कायम गर्न नसकेको र बल प्रयोगका मापदण्ड लागू गराउन असफल भएको पनि प्रतिवेदनमा औँल्याइएको छ।

यद्यपि, रिजालले भने आफूले घातक गोली चलाउन आदेश नदिएको दाबी गरेका छन्। उनले संसद भवनको सुरक्षा र प्रदर्शनकारीको ज्यान जोगाउने ‘डुअल अब्जेक्टिभ’ अनुसार न्यूनतम बल प्रयोग गर्न निर्देशन दिएको, र आवश्यक परे मात्र घुँडाभन्दा तल लक्षित गरी रबरको गोली प्रयोग गर्न भनेको बताएका छन्।

तर आयोगले उनको यस्तो दाबीलाई पर्याप्त नठानेर घटनामा उनको जिम्मेवारी स्पष्ट रहेको ठहर गरेको छ। सोही आधारमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कानुनी कारबाही अघि बढाउने सिफारिस गरिएको हो।

प्रतिक्रिया