१८ चैत,काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो सार्वजनिक गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष उत्तरपुस्तिका परीक्षणको नयाँ व्यवस्था लागू गर्ने भएको छ। अब परीक्षा भएको केन्द्रबाटै उत्तरपुस्तिका जाँच गरिनेछ। यस कदमले नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको निर्देशनपछि बोर्डले यस्तो निर्णय गरेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षा केन्द्रमै परीक्षण केन्द्र स्थापना गरेर उत्तरपुस्तिका जाँच गरिनेछ। तर जहाँ शिक्षक अभाव छ वा सुरक्षा समस्या देखिन्छ, त्यस्ता स्थानका उत्तरपुस्तिका अन्य सुरक्षित केन्द्रमा सारेर परीक्षण गरिने व्यवस्था पनि गरिएको छ।
अघिल्ला वर्षहरूमा भने उत्तरपुस्तिका परीक्षणका लागि गोप्य केन्द्र तोकिन्थ्यो र एक प्रदेशको कापी अर्को प्रदेशमा पठाइने प्रचलन थियो। यसपटक भने सो प्रणाली परिवर्तन गर्दै सम्बन्धित केन्द्रमै परीक्षण गर्न लागिएको हो।
यसअघि एसईईको नतिजा असारको दोस्रो सातातिर मात्र आउने गरेकोमा ढिलाइको गुनासो बढ्दै गएको थियो। ढिलो नतिजाले विद्यार्थीमा मानसिक तनाव बढाउने र ब्रीज कोर्स जस्ता अतिरिक्त कक्षाले थप दबाब सिर्जना गर्ने गरेको भन्दै आलोचना हुँदै आएको थियो। यसैलाई ध्यानमा राख्दै मन्त्रालयले ब्रीज कोर्स कार्यक्रम पनि रोक्ने निर्णय गरेको छ।
यसैबीच, चैत १९ गतेदेखि सुरु हुने एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डले जनाएको छ। चुनावका कारण परीक्षा तालिका केही पछि सारिएको भए पनि अहिले सबै व्यवस्थापन मिलाइसकिएको छ। देशभरका ७७ जिल्लामा केन्द्राध्यक्ष, प्रश्नपत्र, उत्तरपुस्तिका र सुरक्षाकर्मीको व्यवस्था भइसकेको छ।
यस वर्ष कुल १ हजार ९६६ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुनेछ, जसमा एउटा केन्द्र जापानमा समेत रहेको छ। बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्। परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न बोर्डले सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ।