१२ कात्तिक, काठमाडौं - भारी हिमपातपछि म्याग्दी जिल्लास्थित अन्नपूर्ण बेस क्याम्पमा फसेका १६२ पर्यटकको सशस्त्र प्रहरीले उद्धार गरेको छ। बेसक्याम्पमा हिमपहिरो आएका कारण उनीहरुलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
उद्धारपछि अन्नपूर्ण बेसक्याम्प(म्याग्दीतर्फ) कोही पनि आन्तरिक तथा बाह्य पर्यटक छैनन् ।
सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन बेश नारच्याङ म्याग्दीबाट कार्तिक ११ गते उद्धारका लागि सुरक्षा फौज बेसक्याम्प तर्फ गएको थियो । सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमान्डमा गएको फौजले १७ बिदेशी पर्यटकसहित आज बिहान सम्म १ सय ६२ जनाको उद्दार गरेको हो । बाक्लो हिमपातका कारण जोखिममा परेका र बाटो पत्ता लगाउन नसकेर अलपत्र परेका पर्यटकहरूको डोरीको सहायताले बाटो पहिल्याउंदै उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बाटोमा रहेकालाई पनि सुरक्षाकर्मीले जोखिमका कारण फर्काएका छन्।
चक्रवात मोन्थाका कारण हिमाली क्षेत्रहरुमा भारी हिमपात भइरहेको छ। जसकारण उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ।