काठमाडौं । ओखलढुंगा एमाले जिल्ला कमिटीपछि पालिकास्तरीय संरचना पनि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समायोजन हुने क्रम तीव्र बनेको छ। मोलुङ गाउँपालिकामा एमालेका दुई जना वडाध्यक्षसहित दर्जनौँ स्थानीय नेता तथा कार्यकर्ता नेकपामा समायोजन भएका छन्।
एमाले जिल्ला लेखा आयोगका अध्यक्ष मोहन ढकाल, मोलुङ गाउँपालिका–१ का वडा अध्यक्ष कमलबहादुर बानियाँ र वडा नम्बर ६ का वडा अध्यक्ष कमल तामाङसहित ठूलो संख्यामा स्थानीय नेता–कार्यकर्ता नेकपामा समाहित भएका हुन्।
समायोजन कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार अम्बिरबाबु गुरुङ, निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम गौतमलगायत जिल्लाका नेताहरूले नवसमाहित नेता–कार्यकर्तालाई स्वागत गरेका थिए।
यसैबीच नेकपाले पालिकास्तरीय घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै उम्मेदवार तथा पार्टी नेता–कार्यकर्ता मतदाताको घर–घरमा पुगिरहेका छन्।
उल्लेखनीय कुरा के छ भने यसअघि नै एमालेको सम्पूर्ण जिल्ला कमिटी नेकपामा समायोजन भइसकेको थियो। त्यसपछि पालिकास्तरमै निर्वाचित जनप्रतिनिधिसहितको समायोजनले जिल्लाको राजनीतिक समीकरणमा ठूलो परिवर्तन आएको विश्लेषण गरिएको छ।
एमालेभित्रको असन्तोष, नेतृत्वप्रतिको असहमति र वैकल्पिक कम्युनिस्ट धारको खोजीले यस्तो लहर बढेको बताइँदैछ।