कांग्रेसले कडा मापदण्ड लागू गर्दै ‘लिडरसीप एकेडेमी’ नपढी उम्मेदवार बन्न नपाइने

साझा लाल्टिन संवाददाता

११ चैत,काठमाडौं नेपाली कांग्रेसले अब उम्मेदवार चयन प्रक्रियामा नयाँ कडाइ ल्याउने तयारी गरेको छ। पार्टीबाट चुनाव लड्न चाहने जो–कोहीले ‘लिडरसीप एकेडेमी’को अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गर्न लागिएको हो।

सभापति गगन कुमार थापाका अनुसार पार्टीले तयार पार्ने पाठ्यक्रम पूरा नगरेसम्म कसैलाई पनि उम्मेदवार बन्ने अवसर दिइने छैन। यो पाठ्यक्रम कांग्रेसकै नीति प्रतिष्ठानले बनाउनेछ, जसको नेतृत्व उपसभापतिले गर्ने व्यवस्था गरिएको छ।

आगामी स्थानीय तथा प्रदेश निर्वाचनदेखि लागू गर्ने लक्ष्य राखिएको यो प्रणालीले उम्मेदवार चयनलाई व्यवस्थित र योग्यतामा आधारित बनाउने दाबी गरिएको छ। इच्छुक उम्मेदवारहरूले तोकिएको समय र घण्टा अनुसार प्रशिक्षण लिनु अनिवार्य हुनेछ।

यो नियम नयाँ अनुहार मात्र होइन, पुराना नेता–कार्यकर्तामा पनि समान रूपमा लागू हुने बताइएको छ। थापाले राजनीतिक अनुभव मात्र पर्याप्त नभएको भन्दै शासन सञ्चालनसम्बन्धी ज्ञान र सीप पनि आवश्यक हुने उल्लेख गरेका छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस्तै अवधारणा अघि सारेको भए पनि व्यवहारमा लागू भने हुन सकेको छैन।

प्रतिक्रिया