२१ पुस, काठमाडौं - पेशागत महासंघ नेपाल (Confederation of Nepalese Professionals–CONEP) ले भेनेजुएलामाथि संयुक्त राज्य अमेरिकाले गरेको भनिएको सैन्य आक्रमणको कडा विरोध गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भेनेजुएलामाथि हवाई आक्रमण गरेको घटनाप्रति गम्भीर आपत्ति जनाएको हो ।
विज्ञप्तिमा हवाई आक्रमणका क्रममा भेनेजुएलाका राष्ट्रपति र उनकी पत्नीलाई अमेरिकी सेनाले अपहरण गरेको तथा भेनेजुएलामाथि तेल प्रतिबन्ध लगाई प्राकृतिक स्रोतहरू कब्जा गरिएको आरोप लगाइएको छ । महासंघले यस घटनालाई संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको बताएको छ ।
कोनेपले भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेपको कडा भर्त्सना गर्दै आफ्नो सार्वभौमिकता र आत्मनिर्णयको अधिकार रक्षा गर्न संघर्षरत भेनेजुएलाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।
महासंघले अमेरिकी सरकारलाई तत्काल सैन्य हस्तक्षेप रोक्न, अपहरणमा परेका भनिएका राष्ट्रपति र उनकी पत्नीलाई सुरक्षित रूपमा रिहा गर्न तथा भेनेजुएलाली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न आग्रह गरेको छ । साथै, यस विवादको समाधानका लागि संयुक्त राष्ट्रसंघले तुरुन्त पहल लिनुपर्ने माग पनि गरिएको छ ।
कोनेपका अध्यक्ष प्रेमल कुमार खनालद्वारा हस्ताक्षरित उक्त विज्ञप्ति २०२६ जनवरी ४ मा जारी गरिएको हो । अध्यक्ष खनाल विश्व ट्रेड युनियन महासंघ (WFTU) का प्रेसिडेन्सियल काउन्सिल सदस्यसमेत हुन् ।