०४ चैत,काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान दिएकोमा धन्यवाद दिएकी छन्। बालुवाटारमा आयोजित भेटमा उनीहरूलाई सम्बोधन गर्दै कार्कीले भनिन्, “तपाईँहरूले निर्वाचनमा सक्रिय भाग लिई देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोग गर्नुभयो, यसका लागि धन्यवाद।”
भेटमा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं सहसंयोजक माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतका नेताहरू उपस्थित थिए। प्रचण्डले भने, “निर्वाचन नभए मुलुक ठूलो संकटमा जाने थियो। प्रधानमन्त्री कार्कीको साहस र मेहनत प्रशंसनीय छ।”
पूर्वप्रधानमन्त्री नेपालले पनि प्रधानमन्त्रीको उपस्थितिले संविधान र व्यवस्था जोगिने विश्वास दिलाएको अनुभव सुनाए। बैठकमा नेताहरूले निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए।