२० भदौ, काठमाडौँ - नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छ। सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गर्ने कार्य सुरु भइसकेको पुष्टि गरे । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरुलाई निष्क्रीय बनाउन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।
आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । उनले 'facebook.com' टाइप गर्दा नखुल्ने स्पष्ट पारे । ‘अहिलेलाई लिस्टमा भएका २६ वटा बन्द गर्ने काम हामीले सुरु गरिसकेका छौं,’ उनले भने, ‘हिजोदेखि नै यूआरएलहरू ब्लक गरिएको छ । फेसबुक डटकम भनेर ब्राउज गर्दा यो खुल्दैन ।’
यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् ।
एप भने बन्द गरिएको छैन । मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरूले एउटै युनिफर्म स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार काम गर्न चाहिरहेको खड्काले बताए । ‘यसका लागि सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सम्मिलित एउटा प्राविधिक कमिटी बनाउन हामीले आग्रह गरेका छौँ,’ उनले भने, ‘प्राविधिक मापदण्ड निर्धारण गरेर एपहरूलाई निस्क्रिय बनाउन खोजेका छौं । एउटा आईएसपीले एउटा विधि, अर्कोले अर्को तरिकाले ब्लक गर्यो भने एउटाकोमा खुल्ने, अर्काकोमा बन्द हुने हुन सक्छ । एकरुपताका लागि आज बैठक गर्दै छौं ।’