काठमाडौं ३१ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरू देशमा अराजकता फैलाउन उद्दत रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । केही पार्टीहरूले आफूलाई नयाँ भन्दै जनतामा भ्रम फैलाइरहेको उल्लेख गर्दै यसतर्फ नागरिक स्वयं सचेत रहनुपर्ने तर्क गरे ।
उनले मुलुकको शान्ति व्यवस्था खलबल्याउन तथा देशलाई प्रतिगमनतिर लैजान समेत प्रतिगामी तत्त्वहरू सक्रिय रहेको उल्लेख गरे ।विगतमा भएका राजनीतिक घटनाहरूको स्मरण गर्दै उनले केही शक्तिहरू त्यस्तै घटनाहरू दोहोर्याउने हेतुले राजतन्त्र फर्काउने अभियानमा लागिरहेको टिप्पणी गरे ।
उनले नेपाली नागरिकलाई सुखी र मुलुकलाई समृद्ध बनाउन ढिला भइसकेकोले नयाँ सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकता भएको बताए । कानुन र संवादको माध्यमबाट निष्कर्षमा पुगिने कुराहरूमा जोरजोलुम गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने पनि उनले बताए ।