ग्राहकको पैसा हिनामिना गरेको आरोपमा बैंक कर्मचारी पक्राउ

साझा लाल्टिन संवाददाता

१७  चैत,काठमाडौं - उदयपुरमा एक बैंक कर्मचारी ग्राहकको खाताबाट रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार, बैंककै उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। घटनाबारे जानकारी दिँदै उनले हाल बानियाँमाथि अनुसन्धान भइरहेको बताए।

त्रियुगा नगरपालिका–५ की स्थानीय बानियाँले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बैंक व्यवस्थापनले आन्तरिक छानबिनका क्रममा अनियमितता भेटेपछि प्रहरीलाई जानकारी गराएको थियो।

हाल उनी प्रहरी हिरासतमा रहेकी छन् र उनीमाथि बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। साथै, यस प्रकरणमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया