पराजयपछि गगन थापाको राजीनामा, बैठकमा अस्वीकृत गर्ने तयारी

साझा लाल्टिन संवाददाता

०५ चैत,काठमाडौं नेपाली कांग्रेसमा नेतृत्व संकटबारे नयाँ मोड आएको छ। सभापति गगन थापाले दिएको राजीनामा पार्टीभित्रै अस्वीकृत गर्ने तयारी भएको छ।

२१ फागुनको निर्वाचनमा पराजय भोगेपछि नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए। तर शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा सो राजीनामा स्वीकार नगर्ने प्रस्ताव अघि सारिने तयारी गरिएको छ।

बैठकमा थापा स्वयं अनुपस्थित रहने बताइएको छ भने अध्यक्षता उपसभापति शर्माले गर्नेछन्। बैठकमा उनले थापाको राजीनामाबारे औपचारिक जानकारी गराउँदै अस्वीकृत गर्ने प्रस्ताव पेश गर्ने स्रोतको दाबी छ।

कांग्रेस नेताहरूका अनुसार चुनावी हारको जिम्मा एक व्यक्तिमाथि मात्र थोपर्न नमिल्ने निष्कर्ष निकालिएको छ। विशेष महाधिवेशनबाट चुनिएको नेतृत्वलाई छोटो तयारीमै चुनावमा होमिनु परेका कारण पनि हार भएको तर्क अघि सारिनेछ।

सर्लाही–४ बाट चुनाव लडेका थापा अमरेस कुमार सिंह सँग पराजित भएका थिए। साथै, विशेष महाधिवेशनबाट आएका अधिकांश पदाधिकारीहरू समेत चुनावमा हार्दा नेतृत्वमाथि प्रश्न उठेको थियो।

पार्टीले देशभरबाट मागेका चुनावी समीक्षा प्रतिवेदनहरूको साझा निष्कर्ष पनि बैठकमा प्रस्तुत हुने तयारी छ। त्यसकै आधारमा थापाको राजीनामा अस्वीकृत गर्दै उनलाई नेतृत्वमा निरन्तरता दिने वातावरण बनाउने कांग्रेसको योजना देखिन्छ।

यसअघि पनि थापाले राजीनामा दिन खोज्दा पार्टीभित्रैबाट विरोध भएको थियो। अन्ततः शीर्ष नेताहरूसँगको छलफलपछि उनले औपचारिक रूपमा राजीनामा बुझाए पनि, अब पार्टीभित्रै त्यसलाई रोक्ने कसरत तीव्र भएको छ।

प्रतिक्रिया