२१ पुस, काठमाडौं - राष्ट्रिय सभा निर्वाचनमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेलको अन्तिम तयारी भइरहेको छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो भने कांग्रेस–एमाले नेतृत्वबीच पनि निरन्तर संवाद भइरहेको छ।
सोमबार कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको टोलीले ओलीसँग भेट गर्ने र रातिसम्म सहमति टुंग्याएर भोलि एमाले सचिवालयबाट औपचारिक निर्णय गर्ने तयारी छ। बुधबार उम्मेदवारी दर्ताको कार्यतालिका छ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभामा अंकगणितका कारण रणनीतिक तालमेल अपरिहार्य भएको बताएका छन्। स्रोतका अनुसार तीन दल मिल्दा १८ सिटमध्ये कांग्रेस र एमालेलाई ७/७ र नेकपालाई ४ सिट दिने मोडेलमा अनौपचारिक छलफल भएको छ।
प्रचण्डले भने मधेश प्रदेशका साना दलसमेत समेटेर मतभारका आधारमा सिट बाँडफाँट गरी सबै ठाउँमा सर्वसम्मत निर्वाचन गराउने प्रस्ताव अघि सारेका छन्। यदि कांग्रेस–एमाले मात्र मिलेर चुनाव लडे नेकपाले सबै प्रदेशमा उम्मेदवार उठाउने चेतावनी दिएको छ।
आगामी ११ माघमा हुने निर्वाचनमा १८ पदका लागि मतदान हुनेछ। प्रमुख तीन दल मिल्न सके राष्ट्रिय सभा निर्वाचनमा सर्वसम्मतको वातावरण बनाउने प्रयास हुने नेताहरूको भनाइ छ।