काठमाडौं - निर्वाचन आयोग, नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ।
आयोगले मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अध्यावधिक कार्यविधि, २०७९ बमोजिम प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरेको हो। यस क्रममा २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा भएका नागरिकहरूको विवरण समावेश गरिएको निर्वाचन आयोगले जनाएको छ।
अन्तिम मतदाता नामावलीअनुसार देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका छन्। तीमध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० जना मतदाता रहेका छन्।
आयोगका अनुसार २०७९ सालको निर्वाचनको तुलनामा २०८२ मा कुल मतदाताको संख्या ९ लाख १५ हजार ९९१ ले वृद्धि भएको छ। यस अवधिमा पुरुष मतदाता ५ लाख २२ हजार ४५२, महिला मतदाता ३ लाख ९२ हजार ४५२ र अन्य मतदाता १५ जनाले वृद्धि भएको जनाइएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ९९२ मतदान केन्द्र तोकिएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा मतदान स्थल ५७ ले र मतदान केन्द्र ५५४ ले वृद्धि भएको आयोगले स्पष्ट पारेको छ।
सार्वजनिक गरिएको अन्तिम मतदाता नामावली निर्वाचन आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा उपलब्ध रहेको छ। मतदाताले आफ्नो नामावली विवरण त्यहीँबाट हेर्न सक्ने आयोगले जनाएको छ।