१८ भदौ, काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार कांग्रेस र एमालेले नभई बिचौलियाले चलाएको आरोप लगाएका छन् ।
बुधाबार पार्टी निकट महिला सङ्घ(क्रान्तिकारी)को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रुपमा कांग्रेस र एमालेले चलाए पनि सारमा बिचौलिया र दललाले चलाएको आरोप लगाएका हुन् ।
‘अहिले राज्य कसको हातमा छ भन्दा कहिलेकाहीँ हामी पनि कन्फ्युजन हुन्छौँ । पार्टीका नेताहरूले राज्य चलाएको जस्तो देखिन्छ । रूप हेर्दा कहिले माओवादी र कांग्रेस, कहिले माओवादी र एमाले, कहिले कांग्रेस र एमाले भनेजस्तो देखिन्छ । तर यथार्थमा राज्य पार्टीको विचारले भन्दा बिचौलिया र दलाल पूँजीपतिहरुको बलले, बिचौलियाले करोडौँ र अरबौं खर्च गरेर पार्टीका नेता खरिद गरेर चलाएको व्यवस्था हो’, उनले भने । आफूले यही स्थितिको विरोध, अन्त्यका लागि सुशासन र भ्रष्टाचारविरुद्ध अभियान छेडेको उनले दाबी गरेका छन् ।
‘बिचौलियाले पैसाको बलमा सेटिङ गरेर कर्मचारी भर्ना गर्ने, त्यस्ता कर्मचारीबाट आफू अनुकूल निर्णय गराउने, जुन घातक प्रचलन हो त्यसलाई मैले रोकेकै हो । अहिलेको गठबन्धन बिचौलिया, दलालले बनाएको हो’, उनले भने, ‘राम्रो गर्न खोज्दा हटाउने, कुलमान हटाउने, कान्छाराम हटाउने काम भएका छन् । राम्रो गर्न खोज्दा इन्दिरा राना हटाउन षड्यन्त्र भइरहेको छ । छानिछानी हटाउने काम भएका छन् । जनजाति हटाएका छन् ।’
दलाल बिचाैलियाहरुले पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्ने विरुद्ध सबै पार्टीका महिलाहरूले सडक सङ्घर्षमा उत्रिन उनले आह्वान गरेका छन् ।